स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार हुने

0

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले शैक्षिक परामर्श सेवा सम्बन्धी नियमावली, २०८३ का प्रावधानबारे व्यवसायीहरूलाई जानकारी गराउने उद्देश्यसहित आगामी आइतबार दिउँसो १२:३० बजे हिमालयन रेस्ट्रो एन्ड इभेन्टको सभाहलमा सूचना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी व्यवसायीहरूले कार्यान्वयनको तयारीमा रहेको शैक्षिक परामर्श सेवा सम्बन्धी नियमावली, २०८३ का विभिन्न प्रावधानमाथि विस्तृत छलफल गरेका थिए। छलफलका क्रममा नियमावलीमा समावेश भएका केही जटिल, अव्यावहारिक तथा व्यवसाय सञ्चालनमा चुनौती सिर्जना गर्न सक्ने व्यवस्थाबारे समीक्षा गरिएको थियो। साथै, यसअघि सरकार र सरोकारवाला पक्षबीच भएका वार्ता तथा छलफलका विषयमा पनि जानकारी आदान–प्रदान गरिएको जनाइएको छ।

आयोजकका अनुसार सूचना आदान–प्रदान कार्यक्रमको मुख्य उद्देश्य नियमावलीका प्रावधानबारे स्पष्ट जानकारी गराउनु, व्यवसायीहरूबीच अनुभव तथा सुझाव साझा गर्नु र व्यवहारमा देखिएका समस्याको व्यावहारिक समाधान खोज्नु रहेको छ। कार्यक्रममार्फत नियमावलीमा रहेका जटिल तथा कार्यान्वयनमा कठिनाइ उत्पन्न गराउने बुँदाहरूलाई संशोधन गरी व्यवसायमैत्री बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने विषयमा समेत छलफल हुने बताइएको छ।

बैठकमा सहभागी व्यवसायीहरूले शैक्षिक परामर्श क्षेत्र वैदेशिक शिक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यससम्बन्धी नीति तथा नियम निर्माण गर्दा सरोकारवाला व्यवसायीहरूको अनुभव, सुझाव र सहभागितालाई प्राथमिकता दिन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले विद्यार्थीको हित, सेवा प्रवाहको गुणस्तर तथा व्यवसायको दिगोपनलाई केन्द्रमा राखेर व्यावहारिक र समयसापेक्ष नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

आयोजकका अनुसार आइतबार हुने कार्यक्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा नियमावलीका विभिन्न प्रावधान, त्यसले व्यवसायमा पार्ने प्रभाव, सम्भावित समाधानका उपाय तथा सरकारसमक्ष पेश गरिने साझा सुझावबारे विस्तृत छलफल गरिनेछ।

कार्यक्रममा सञ्चारकर्मी, शैक्षिक परामर्श व्यवसायी, सरोकारवाला व्यक्तित्व तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा प्राप्त सुझाव तथा निष्कर्षलाई सम्बन्धित सरकारी निकायसमक्ष औपचारिक रूपमा पेश गरी नियमावलीलाई थप व्यावहारिक, सहज र प्रभावकारी बनाउन पहल गरिने आयोजकले जनाएको छ।

आयोजकले सम्पूर्ण स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी, सञ्चारकर्मी तथा सम्बन्धित सरोकारवालाहरूलाई कार्यक्रममा समयमै उपस्थित भई आफ्ना धारणा, सुझाव तथा अनुभव प्रस्तुत गर्न आग्रह गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top