भक्तपुर । नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ११ दिने ‘रामशेखरया ख्यालः ब्वज्या’ कार्यक्रमअन्तर्गत पाँचौं दिन बुधबार आस्था थियटरमा नेपाली भाषाको एकमात्र ख्यालः ‘तन्त्र टाब्लेट’ मञ्चन गरिएको छ।
बाल विकास इङ्गलिस स्कुलको प्रस्तुतिमा रहेको उक्त ख्यालःको निर्देशन रवि प्रजापतिले गर्नुभएको हो। कला संयोजन विकास तमखुले तथा व्यवस्थापन उद्वव कोण्डाले गर्नुभएको थियो।
प्रस्तुत ख्यालःले नयाँ परिवर्तनका नाममा शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा लगाइएको कर, विभिन्न समयमा भएको प्रजातन्त्रको हरण, ‘जेन्जी’का नाममा निमुखा नागरिकमाथि हुने अन्यायपूर्ण व्यवहार, प्रशासनको पक्षपाती प्रवृत्ति, तन्त्रको मनपरी, चोरीपैठारी तथा महँगीजस्ता समसामयिक विषयलाई हास्यव्यंग्यमार्फत प्रस्तुत गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले तीन दशकअघि रचित रामशेखर नकर्मीका ख्यालःहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले नयाँ पुस्ताले ख्यालःको मर्मलाई आत्मसात् गर्दै प्रस्तुत गर्न सफल भएको उल्लेख गर्दै प्रजातन्त्र स्थापनापछि मौलाएको भ्रष्टाचार र कमिसनतन्त्रले सोझा व्यक्तिलाई समेत परिस्थितिको शिकार बनाइरहेको धारणा व्यक्त गर्नुभयो।
प्रहसनपश्चात् प्रतिक्रिया व्यक्त गर्दै रंगकर्मी तथा बालकथाकार टंक चौलागाईंले कलाकारहरूले दर्शकको प्रतिक्रिया र प्रस्तुत विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै संयमित अभिनय गरेको बताउनुभयो।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनपछि स्थापित प्रजातन्त्र सर्वसाधारण नागरिकका लागि अझै पनि व्यवहारमा भन्दा देखावटी रूपमा सीमित रहेको टिप्पणी गर्नुभयो।
हास्यव्यंग्य कलाकार, निर्देशक, कथाकार तथा उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० वटा ख्यालःमध्ये बुधबारसम्म पाँच वटा मञ्चन सम्पन्न भइसकेका छन्। पाँचौं दिन नेपाली भाषामा प्रस्तुत गरिएको ‘तन्त्र टाब्लेट’पछि सातौं दिन साउन १५ गते शुक्रबार श्रमिक साकोसले नेपालभाषामा अर्को ख्यालः प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
यसअघि आज (छैटौं दिन) प्रभात माध्यमिक विद्यालयले ‘खुँ’ नामक ख्यालः मञ्चन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम अवलोकनका लागि विद्यार्थी, समालोचक, साहित्यप्रेमी, अभिभावक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
