दुवाकोटमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

0

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य चौकी परिसरमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। चाँगुनारायण नगरपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री सुरेश श्रेष्ठबाट भएकाे थियाे।

उद्घाटन समारोहमा बाेल्दै मन्त्री श्रेष्ठले स्थानीय तहबाट स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न चाँगुनारायण नगरपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको धारणा व्यक्त गर्दै स्वास्थ्यलगायत विकासका क्षेत्रमा प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन आफू सधैं प्रतिबद्ध रहने बताए। स्थानीय स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेश सरकारले निरन्तर सहकार्य गर्ने विश्वास पनि  व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले नगरवासीका लागि मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए। आफू निर्वाचित भएपछि निःशुल्क रगत तथा अक्सिजन सेवा सञ्चालनमा ल्याइएको र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न जनमुखी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

उद्घाटन समारोहकै अवसरमा चाँगुनारायण नगरपालिका र ख्वप तिलगंगा आँखा अस्पतालबीच मोतियाबिन्दु भएका नगरवासीको निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर तथा कागजात आदानप्रदान गरिएको छ। नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङबीच उक्त सम्झौता सम्पन्न भएको हो।

कार्यक्रमसँगै सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट दुई सयभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। आयोजकका अनुसार शिविर साउन १८ गतेसम्म दैनिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. गुरुङले नगरपालिकासँगको सहकार्य आगामी दिनमा अझ सशक्त बन्दै जाने विश्वास व्यक्त गर्दै समयमै आँखा परीक्षण गराई मोतियाबिन्दु, दृष्टिदोष तथा अन्य आँखासम्बन्धी समस्याको उपचार गराउन नागरिकलाई आग्रह गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले वडावासीको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित स्वास्थ्य शिविर, घुम्ती स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रममार्फत स्थानीयको स्वास्थ्य सेवामा पहुँच विस्तार भइरहेको बताए।

शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठले दुवाकोटमा स्थापित आँखा केन्द्रबाट आसपासका स्थानीय तहका नागरिकसमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। अन्तरस्थानीय तह सहकार्यले स्वास्थ्य पूर्वाधार विस्तारमा थप टेवा पुग्ने उनको भनाइ थियो।

समारोहमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, भक्तपुर जनस्वास्थ्य कार्यालयका अधिकृत दीपक अछामी, हिमालयन क्याटरेक्ट प्रोजेक्टकी कन्ट्री डाइरेक्टर पुनम भण्डारी, विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका पदाधिकारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

आँखा स्वास्थ्य सेवाको आवश्यकता

रेपिड असेस्मेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (RAAB)–२०२२ अनुसार नेपालमा करिब १५ लाख ६५ हजार ९ सय ७ जना कुनै न कुनै आँखासम्बन्धी समस्याबाट प्रभावित छन्। तीमध्ये ४० हजार २ सय ३० जना पूर्ण रूपमा दृष्टिविहीन रहेका छन् भने ६३ हजार ९ सय ८५ जनामा गम्भीर दृष्टि समस्या रहेको तथ्यांकले देखाएको छ। अध्ययनअनुसार समयमै उपचार, चस्माको प्रयोग तथा सामान्य शल्यक्रियाको पहुँच नहुँदा करिब ८० प्रतिशत दृष्टिसम्बन्धी समस्या जटिल बन्दै गएको छ। तिलगंगा आँखा प्रतिष्ठानका अनुसार नेपालमा दृष्टिविहीनताको प्रमुख कारण मोतियाबिन्दु नै हो।

यही अवस्थालाई मध्यनजर गर्दै दुवाकोटमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको हो। केन्द्र सञ्चालनमा आएपछि चाँगुनारायण नगरपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आँखा परीक्षण, चस्मा सेवा तथा मोतियाबिन्दुजस्ता समस्याको निःशुल्क शल्यक्रियासहित गुणस्तरीय आँखा उपचार सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। विशेषगरी ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न परिवार तथा समयमै उपचार नपाउँदा दृष्टि गुमाउने जोखिममा रहेका नागरिकका लागि यो केन्द्र महत्वपूर्ण स्वास्थ्य पूर्वाधारका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top