भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो स्थानीय तह निर्वाचनपछि चार वर्षको अवधिमा आन्तरिक राजस्व, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत चार वर्षे कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै राजस्व संकलनदेखि सेवा विस्तारसम्मका उपलब्धिहरू सार्वजनिक गरेको हो।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले करको दर नबढाई करको दायरा विस्तार, बक्यौता असुली, व्यवसाय दर्ता अभियान र कर प्रशासन सुधारका कारण आन्तरिक राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको बताए।
उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको आन्तरिक राजस्व आर्थिक वर्ष २०८२/८३ मा बढेर ५२ करोड ५६ लाख १ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संकलित २७ करोड १७ लाख ५८ हजार रुपैयाँको तुलनामा यो ९३.४० प्रतिशतले बढी हो। चार वर्षको अवधिमा राजस्व करिब तीन गुणाले वृद्धि भएको नगरपालिकाको दाबी छ।
नगरप्रमुख श्रेष्ठले आवासीय घरबहाल कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिए पनि राजस्व बढ्नु करको दायरा विस्तार र प्रशासनिक सुधारको परिणाम भएको बताए। वर्षौंदेखि कर नतिरेका व्यवसायीलाई करको दायरामा ल्याइएको, नयाँ व्यवसाय दर्ता गरिएको तथा घर नक्सा नियमितीकरण र अभिलेखीकरण अभियान सञ्चालन गरिएकाले राजस्वमा उल्लेखनीय सुधार आएको उनको भनाइ थियो।
७९ वटा कानुन निर्माण
नगरपालिकाले चार वर्षमा ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। स्थानीय सरकारलाई कानुनी रूपमा सक्षम, पारदर्शी र उत्तरदायी बनाउन कानुन निर्माणलाई प्राथमिकता दिइएको नगरप्रमुख श्रेष्ठले बताए।
शिक्षा क्षेत्रमा सुधार
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन तथा छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
संस्थागत विद्यालयका कक्षा १ देखि १० सम्मका ४ हजार ८१४ तथा कक्षा ११ र १२ का २०४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दैनिक दिवा खाजा उपलब्ध गराइएको छ भने चालु आर्थिक वर्षदेखि यो कार्यक्रम कक्षा ८ सम्म विस्तार गरिने भएको छ।
नगरपालिकाका अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधारसँगै विद्यार्थी संख्या २०७९ सालको करिब ४ हजार ५०० बाट बढेर २०८२ मा करिब ८ हजार पुगेको छ।
स्वास्थ्य सेवाको विस्तार
स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, क्यान्सर परीक्षण, निमोनिया र रेबिजविरुद्ध निःशुल्क खोप, होमियोप्याथिक सेवा तथा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, न्युरो सेवा, शल्यक्रिया लगायत विशेषज्ञ सेवा थप गरिएको छ। अस्पतालले दैनिक करिब १ हजार २०० बिरामीलाई सेवा दिइरहेको नगरपालिकाको दाबी छ।
कोरिया सरकारको १ अर्ब ३८ करोड रुपैयाँ सहयोगमा निर्माणाधीन सुविधा सम्पन्न नयाँ अस्पताल भवन यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
पूर्वाधारमा व्यापक लगानी
नगरपालिकाले चार वर्षमा करिब २८ किलोमिटर सडक कालोपत्रे, ढलान, ढुङ्गा तथा ब्लक छपाइ सम्पन्न गरेको जनाएको छ। साथै वडा कार्यालय, विद्यालय भवन, सार्वजनिक शौचालय, ज्येष्ठ नागरिक गृह, सेन्ट्रल किचेन, पार्क, मठमन्दिर, पोखरी तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण र संरक्षण गरिएको छ।
'मध्यपुर उज्यालो अभियान' अन्तर्गत नगरका विभिन्न सडकमा १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरिएको छ भने नीलबाराही क्षेत्र संरक्षण, सम्पदा मार्ग निर्माण तथा बसिपुखु संग्रहालय निर्माणका कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।
सहकारी पीडितलाई बचत फिर्ता
नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ५१२ बचतकर्तालाई हालसम्म ५० लाख ४२ हजार रुपैयाँ फिर्ता गरिसकेको जनाएको छ। ११६ जना बचतकर्ताले पूर्ण रकम प्राप्त गरिसकेको नगरपालिकाको भनाइ छ।
कृषि, रोजगार र सामाजिक सुरक्षा
कृषि क्षेत्रमा २ हजार १५३ कृषक सूचीकृत गरिएको, कृषि सामग्रीमा अनुदान, कौसी खेती तालिम तथा रासायनिक मल वितरण गरिएको छ।
रोजगार सेवा केन्द्रमार्फत ९५ जनालाई रोजगारी प्रदान गरिएको तथा करिब २ हजार ५०० जनालाई सीपमूलक तथा स्वरोजगार तालिम दिइएको नगरपालिकाले जनाएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि क्षमता विकास, स्वास्थ्य, आत्मनिर्भरता र सामाजिक समावेशीकरणका विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
पर्यटन प्रवर्द्धनमा जोड
नगरपालिकाले 'गन्तव्य मध्यपुर' अभियान सञ्चालन गर्दै मध्यपुर महोत्सव, सम्पदा पदयात्रा, दाफा भजन, धिमे बाजा, बाँसुरी बाजा प्रतियोगिता तथा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। मध्यपुर पर्यटन बोर्ड गठन प्रक्रिया समेत अघि बढाइएको छ।
नयाँ प्रशासकीय भवन आफ्नै स्रोतबाट
नगरप्रमुख श्रेष्ठले संघीय सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका लागि जम्मा ५५ लाख रुपैयाँ मात्र विनियोजन गरेको उल्लेख गर्दै नगरपालिकासँग ६२ करोड रुपैयाँ मौज्दात रहेको जानकारी दिए।
उनका अनुसार नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट करिब ३६ करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न नयाँ प्रशासकीय भवन निर्माण सुरु गरिसकेको छ।
चालु आर्थिक वर्षका प्राथमिकता
चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन, सडक महोत्सव, पर्यटन मेला, मध्यपुर म्याराथन, खेलकुद महोत्सव, सडक मानवमुक्त नगरपालिका अभियान, मध्यपुर सरसफाइ अभियान, स्मार्ट घर नम्बरिङ प्रणाली, नेपाल भाषा प्रवर्द्धन, पर्यटन बोर्ड सञ्चालन तथा ऐतिहासिक बस्ती संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।
२ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा
कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षका लागि २ अर्ब ७१ करोड रुपैयाँको बजेट कार्यान्वयनमा रहेको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट खर्च गरिने बताए।
प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विगत चार वर्षमा नगरपालिकाले विकास र सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्दै चालु आर्थिक वर्षमा पनि नागरिकको आवश्यकता अनुसार परिणाममुखी कार्यक्रम कार्यान्वयन गरिने बताए।
क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
