भक्तपुर । मध्यपुर थिमिको मौलिक एवं ऐतिहासिक संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यस वर्ष पनि ‘परम्परागत थिमि भैलः २०८३’ आयोजना हुने भएको छ।
श्री गणेश सांस्कृतिक समाज, कुम्हाननी–तुलंननी, मध्यपुर थिमि–५ को आयोजनामा आगामी भदौ १४ देखि १७ गतेसम्म चार दिन विभिन्न स्थानमा परम्परागत भैरव नाच प्रदर्शन गरिने भएको हो। आयोजकका अनुसार कुम्हाननी–तुलंननी टोलको यो वर्षको आयोजना २५औँ प्रदर्शन हो।
शनिबार कुम्हाननी–तुलंननीमा आयोजित जानकारीमूलक कार्यक्रममा आयोजकले थिमि भैलःको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वसँगै यस वर्षको तयारीबारे जानकारी दिएको हो।
मध्यपुर थिमिमा प्राचीनकालदेखि प्रजापति समुदायले प्रदर्शन गर्दै आएको ‘थिमि भैलः’ तन्त्र तथा शास्त्रमा आधारित विशिष्ट आनुष्ठानिक मुकुन्डो नाचका रूपमा परिचित छ। मुकुन्डो अर्थात् ‘ख्वाः पा’ लगाएर प्रदर्शन गरिने यस नाचमा भैरवलाई शिवको उग्र स्वरूप तथा बज्रयान बौद्ध परम्परामा मञ्जुश्रीको उग्र स्वरूपका रूपमा समेत व्याख्या गरिन्छ।
विशेष पूजापाठ गरी मुकुन्डोमा प्राण प्रतिष्ठापन अर्थात् जीवन्यास गरिने भएकाले भैलःलाई मनोरञ्जनका लागि मात्र गरिने नाचका रूपमा नहेरी धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडेर हेर्ने गरिएको आयोजकको भनाइ छ।
३२ तालमध्ये २७ ताल प्रचलनमा
परम्परागत रूपमा भैलः नाचमा ३२ वटा ताल नचाइने उल्लेख भए पनि हाल २७ वटा ताल मात्र प्रचलनमा रहेको आयोजकले जनाएको छ। विभिन्न स्थानमा प्रदर्शन गर्दा स्थानअनुसार फरक–फरक ताल बजाउने परम्परा रहेको बताइएको छ।
थिमि भैलःको महत्वपूर्ण पक्षमध्ये ‘भैलः खायगु’ अर्थात् भैरव जाग्ने विधि हो। कतिपय अवस्थामा भैरव लामो समयसम्म जाग्ने गरेको विश्वास गरिन्छ। त्यस्तै, ‘सिउ’ राख्ने विधिलाई पनि नाचको महत्वपूर्ण तान्त्रिक परम्पराका रूपमा लिइन्छ।
गुह्य पूजाविधिबाट देवगणको शिरमा ‘सिउ’ राखेपछि देवगणहरू प्रशिक्षण दिइएको घरमै बस्नुपर्ने परम्परा रहेको छ। सापारु अर्थात् गाईजात्राका दिन भैलःको ‘साँज्या’ निकाल्ने र त्यसपछि अन्य साँज्या आउन नहुने परम्परा रहेको आयोजकले जनाएको छ।
सार्वजनिक रूपमा मुकुन्डो लगाएर नाच प्रदर्शन गर्नुअघि मुकुन्डो नलगाई प्रशिक्षण दिइएको घरअगाडि पूर्वाभ्यास गर्ने परम्परालाई ‘अखलेय ल्हुइकेगु’ भनिन्छ।
चार दिनसम्म हुने प्रदर्शनमा पहिलो र तेस्रो दिनलाई विशेष मानिन्छ। तेस्रो दिन ‘बाँ पूजा’ गरी विशेष गुह्य पूजा सम्पन्न गर्ने परम्परा रहेको छ।
पाँच देवगणको प्रस्तुति
परम्परागत थिमि भैलःमा पाँच प्रमुख देवगणको प्रस्तुति रहने गर्दछ। जसमा ज्यापुंगःचा (हरिसिद्धी), न्हापा भैलः, लिपा भैलः, न्हापा दागीं र लिपा दागीं रहेका छन्।
ज्यापुंगःचा हरिसिद्धीको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। यसको भूमिका सानो उमेरको बालकले निर्वाह गर्ने परम्परा छ। भैलः तथा दागीं उग्र रूपमा जागेका बेला कपासको बियाँले छातीमा हानेर शान्त पार्ने कार्य ज्यापुंगःचाले गर्ने भएकाले यसलाई ‘ज्यापुंगः’ भनिएको जनविश्वास छ।
न्हापा भैलःलाई पहिलो भैरव, चण्डिका भैरव वा प्रचण्ड चण्ड भैरव तथा दिगु भैरवको प्रतीक मानिन्छ। लिपा भैलःलाई बटुक भैरव अर्थात् बालकुमारीको भैरवका रूपमा प्रस्तुत गरिन्छ। त्यस्तै, न्हापा दागींलाई कुमारी र लिपा दागींलाई महालक्ष्मीको प्रतीकका रूपमा लिइन्छ।
मल्लकालदेखि चलिआएको हुनसक्ने अनुमान
थिमि भैलः प्याखं कहिले र कहाँबाट सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण नरहे पनि प्रजापति समुदायले विसं १९९७ देखि निरन्तर रूपमा परम्परागत थिमि भैलः सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ।
विसं १९९७ भन्दा अगाडि पनि पटक–पटक भैलः निकालिएको र ‘ध्वाः’ थर भएका प्रजापतिले लगातार सात पटकसम्म भैलः निकालेको जानकारी ८८ वर्षीय गुरु सन्तबहादुर कुञ्छे प्रजापतिबाट प्राप्त भएको आयोजकले जनाएको छ। उपलब्ध तथ्यका आधारमा भैलः नाच मल्लकालदेखि नै सञ्चालन हुँदै आएको हुनसक्ने अनुमान गरिएको छ।
पुरानो समयमा प्रजापति समुदायबाट भैलः प्याखं सञ्चालन गर्न राज्य अर्थात् लायकुबाट सहयोगस्वरूप ५० रुपैयाँसम्म दिने गरेको उल्लेख पाइन्छ। समुदायले सञ्चालन गर्न नसकेमा लायकुबाट अनिवार्य रूपमा भैलः सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको सांस्कृतिक अभिलेखमा उल्लेख भएको आयोजकको भनाइ छ।
जनश्रुतिअनुसार प्राचीन समयमा थिमि नगरमा भूतप्रेत, लाखे तथा पिशाचका कारण जनताले दुःख–कष्ट भोगेपछि नगरका अगुवाले राजासमक्ष समस्या राखेका थिए। राजाको आदेशमा भएको छलफलपछि तान्त्रिक विधिबाट भैरव साधना गरे नगर तथा जनतालाई दुःख–कष्टबाट मुक्ति मिल्ने विश्वासका आधारमा भैलः नाच सुरु गरिएको किंवदन्ती रहेको छ।
यसै विश्वासका कारण भैलः नाचलाई नगरको रक्षा, शान्ति तथा समृद्धिसँग जोडेर हेर्ने गरिएको छ।
भदौ १० र ११ गते पूर्वाभ्यास
आयोजकका अनुसार बाजा प्रशिक्षण सुरु भइसकेको छ भने कलाकारहरूको नाच प्रशिक्षण पनि अघि बढाइएको छ। भदौ १० र ११ गते दुई दिन ‘अखलेय ल्हयकेगु’ अर्थात् पूर्वाभ्यास गरिने तयारी छ।
सापारु अर्थात् गाईजात्राका दिन भैलःको साँज्या निकाल्ने र त्यसपछि भदौ १४ देखि १७ गतेसम्म विभिन्न स्थानमा भैरव नाच प्रदर्शन गरिनेछ।
यस वर्षको नाचका लागि गुरुहरूमा तेजकुमार प्रजापति, मोहनकृष्ण प्रजापति, सन्तबहादुर प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, रत्नकाजी प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापति रहेका छन्।
कलाकारतर्फ ज्यापुंगःचाको भूमिकामा विनिस प्रजापति, न्हापा भैलःमा विज्ञान प्रजापति, लिपा भैलःमा रिजन प्रजापति, न्हापा दागींमा निरञ्जन प्रजापति र लिपा दागींमा विमल प्रजापति रहेका छन्।
मध्यपुर थिमिमा चार समूहको भैरव नाच
मध्यपुर थिमिमा विभिन्न गुरु तथा समुदायबाट चार प्रकारका भैरव नाच सञ्चालन हुँदै आएका छन्। जसमा प्रजापति समुदायको परम्परागत थिमि भैलः, प्रजापति समुदायकै अर्को गुरुबाट सिकाइने थिमि भैलः, लायकुबाट सञ्चालन हुने लायकु भैलः र नगदेशको नगदेश परम्परागत भैलः रहेका छन्।
नगदेशको भैरव नाचमा भैरवले खड्ग चलाउने तथा भैरव गण जाग्ने विधि थिमिका अन्य तीन समूहको भन्दा केही फरक रहेको बताइएको छ।
लायकुबाट करिब ५० वर्षसम्म भैरव नाच सञ्चालन नभए पनि विसं २०७२ पछि पुनः सञ्चालन हुन थालेको जानकारी कार्यक्रममा दिइएको थियो।
आयोजनामा करिब ४० लाख खर्च हुने अनुमान
यस वर्षको भैरव नाच आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पाहुना टोलका सहभागी तथा अन्य व्यवस्थापनका कारण विगतका वर्षको तुलनामा खर्च बढ्ने आयोजकको अनुमान छ।
आयोजनाका लागि श्रद्धालु तथा दाताबाट आर्थिक एवं भौतिक सहयोग संकलन गरिने भएको छ। सहयोग गर्ने दातालाई योगदानअनुसार कदर तथा सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
रु. ५ हजारदेखि १० हजारसम्म सहयोग गर्नेलाई कदरपत्रसहित फ्रेम र खादा, रु. १० हजार १ देखि २५ हजारसम्म सहयोग गर्नेलाई आकर्षक फ्रेम र खादा, रु. २५ हजार १ देखि ५० हजारसम्म सहयोग गर्नेलाई कदरपत्र, फ्रेम र दोसल्ला तथा रु. ५० हजारभन्दा माथि सहयोग गर्नेलाई कदरपत्र र दोसल्लासहित विशेष सम्मान गरिनेछ।
आयोजनाका लागि पूजा, कलाकार तथा नाचका सामग्री, प्रदर्शनस्थल, पाल, मेच, विद्यालय, विद्युत् तथा प्रकाश, जलपान र भोज व्यवस्थापनलगायतका काम अघि बढाइएको छ।
नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने लक्ष्य
श्री गणेश सांस्कृतिक समाजले परम्परागत थिमि भैलः प्याखं तथा बाजालाई निरन्तरता दिँदै मध्यपुर थिमिको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्नु आयोजनाको मुख्य उद्देश्य रहेको जनाएको छ।
भैरव नाचलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मध्यपुर थिमिको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सकिने र यसले स्थानीय तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ।
“भाषा, कला, साहित्य र संस्कृतिले समाजलाई जीवित राख्नुका साथै एकतामा बाँध्ने भएकाले यस्ता सांस्कृतिक धरोहर भावी पुस्ताका लागि हस्तान्तरण गर्न संरक्षण र संवद्र्धन आवश्यक छ,” आयोजकले जनाएको छ।
परम्परागत थिमि भैलःलाई निरन्तरता दिन सहयोगी श्रद्धालु, दाता, संघसंस्था तथा सर्वसाधारणलाई आर्थिक एवं भौतिक सहयोग गर्न आयोजकले आग्रह गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
