तीन दशकदेखि रोकिएको खगांको ‘भैलः प्याखं’ पुनः सञ्चालनको तयारी

0



भक्तपुर । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलस्थित खगां टोलमा करिब तीन दशकदेखि रोकिएको मौलिक तथा परम्परागत ‘भैलः प्याखं’ (भैरव नाच) पुनः सञ्चालनको तयारी सुरु भएको छ।

नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्दै रोकिएको भैरव नाचलाई पुनर्जीवन दिने उद्देश्यले ‘खगां भैलः प्याखं पुनर्जागरण अभियान’ अघि बढाइएको हो।

खगां दाफा भजन खलः, पुरानो पुस्ताका गुरु तथा जानकार, नयाँ पुस्ता र संस्कृतिप्रेमीहरूको बिहीबार भएको सामूहिक छलफलले भैलः प्याखं पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। छलफलमा समयक्रमसँगै मौलिक कला, नृत्य र सांस्कृतिक परम्परा कमजोर हुँदै गएको भन्दै समुदायको पहिचानसँग जोडिएको भैलः प्याखंको संरक्षण र पुस्तान्तरणमा जोड दिइएको थियो।

१३ सदस्यीय समिति गठन

भैलः प्याखंलाई व्यवस्थित रूपमा पुनर्जीवन दिन प्रशिक्षण तथा व्यवस्थापनका लागि स्थानीय हरिसुन्दर छुकांको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ।

समितिले भैरव नाचको प्रशिक्षण सञ्चालन, नियमित अभ्यास, सहभागी तथा कलाकारको व्यवस्थापन, आवश्यक सामग्रीको तयारी, पुराना गुरु तथा जानकारसँग समन्वय र आगामी प्रस्तुतिको व्यवस्थापनमा सहजीकरण गर्नेछ।

लामो समयदेखि भैलः प्याखं सञ्चालन नहुँदा यसको अभ्यास र प्रस्तुति शैलीसँग नयाँ पुस्ताको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएको छ। त्यसैले नयाँ पुस्तालाई प्राथमिकतामा राखेर प्रशिक्षण सञ्चालन गर्ने र पुराना गुरु तथा जानकारबाट प्राप्त ज्ञान तथा सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानको उद्देश्य रहेको आयोजकले जनाएको छ।

गुरु–शिष्य परम्परामा आधारित नाच

ताथलीको भैलः प्याखंको इतिहास स्थानीय सांस्कृतिक जीवन र स्मृतिसँग जोडिएको छ। स्थानीय जानकार तथा ज्येष्ठ पुस्ताले सुनाउँदै आएको मौखिक इतिहासअनुसार भक्तपुरका विभिन्न स्थानमा प्रचलित भैलः प्याखं सिकाउने क्रममा ताथलीका गुरुहरूको समेत भूमिका रहेको बताइन्छ।

गुरुबाट शिष्यमा ज्ञान र सीप हस्तान्तरण हुँदै आएको भैरव नाचमा नृत्यका चाल, ताल, अभिनय, पात्रको प्रस्तुति, बाजागाजासँगको समन्वय र अनुशासन महत्वपूर्ण मानिन्छ। यस्ता सीप पुस्तौँदेखि अभ्यास र प्रशिक्षणमार्फत हस्तान्तरण हुँदै आएको स्थानीयको भनाइ छ।

त्यसैले खगां भैलः प्याखंको पुनर्जागरणलाई रोकिएको नाचलाई पुनः सञ्चालन गर्ने प्रयासका रूपमा मात्र नभई गुरु–शिष्य परम्परामा आधारित सांस्कृतिक ज्ञानको पुनःस्थापनाका रूपमा समेत हेरिएको छ।

धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा

भैलः प्याखं भक्तपुर उपत्यकाको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको नृत्य–नाट्य शैली हो। यसमा नृत्य, अभिनय, संगीत, बाजागाजा, भेषभूषा र धार्मिक आस्थाको संयोजन पाइन्छ।

स्थानीय समुदायमा यस्ता प्याखं मनोरञ्जनका लागि मात्र नभई धार्मिक तथा सांस्कृतिक अनुष्ठान, सामुदायिक एकता र स्थानीय पहिचानको अभिव्यक्तिका रूपमा समेत स्थापित छन्।

खगां टोलमा लामो समयदेखि रोकिएको भैलः प्याखं पुनः सञ्चालन हुँदा स्थानीय सांस्कृतिक गतिविधिमा नयाँ ऊर्जा थपिने र युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रशिक्षणमा युवाहरूलाई सहभागी गराई भैलः प्याखंका चाल, ताल, नृत्यशैली, पात्रको भूमिका, बाजागाजा तथा प्रस्तुति पद्धतिबारे अभ्यास गराउने तयारी गरिएको छ। पुराना गुरु तथा अनुभवी कलाकारबाट नयाँ पुस्ताले प्रत्यक्ष रूपमा सिक्ने वातावरण तयार पार्ने लक्ष्य राखिएको छ।

इतिहास अभिलेखीकरणमा जोड

भैलः प्याखं पुनर्जागरणसँगै यसको इतिहासलाई लिखित तथा श्रव्य–दृश्य रूपमा अभिलेखीकरण गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

विशेषगरी ताथलीका पुराना गुरुहरू को–को थिए, उनीहरूले कसलाई प्रशिक्षण दिए, भक्तपुरका कुन–कुन स्थानमा गएर भैरव नाच सिकाए, यसको विस्तार कुन समयमा भयो र नाचका मौलिक चाल तथा शैली कस्ता थिए भन्ने विषयमा पुरानो पुस्ताबाट जानकारी संकलन गर्नुपर्ने देखिएको छ।

स्थानीय संस्कृतिप्रेमीहरूले ज्येष्ठ नागरिक, पुराना गुरु तथा कलाकारसँग अन्तर्वार्ता गरी भैलः प्याखंको इतिहास दस्तावेजीकरण गर्ने कामलाई समेत पुनर्जागरण अभियानसँग जोड्नुपर्ने बताएका छन्। मौखिक इतिहास समयमै संकलन गर्न नसके भावी पुस्ताले महत्वपूर्ण सांस्कृतिक विवरण गुमाउन सक्ने उनीहरूको भनाइ छ।

आर्थिक व्यवस्थापन चुनौती

करिब तीन दशकपछि खगां भैलः प्याखं पुनः सञ्चालनको तयारी भइरहँदा यसको निरन्तरताका लागि आर्थिक व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ।

भैरव नाच सञ्चालनका लागि आवश्यक परम्परागत पोशाक, मुखुण्डोको रंगरोगन तथा मर्मत, बाजागाजा र अन्य सामग्रीको व्यवस्थापनमा खर्च लाग्ने भएकाले अभियानका लागि आर्थिक स्रोत आवश्यक परेको हो।

लामो समयदेखि रोकिएको मौलिक संस्कृति पुनःजीवन दिने अभियान भएकाले यसको सम्पूर्ण भार केही व्यक्ति वा संस्थाले मात्र वहन गर्न कठिन हुने आयोजकको भनाइ छ।

अभियान सफल बनाउन स्थानीयवासी, संस्कृतिप्रेमी, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकलाई आर्थिक सहयोगका लागि आयोजकले आह्वान गरेको छ। सानो–ठूलो जुनसुकै सहयोगले पनि तीन दशकदेखि रोकिएको सांस्कृतिक परम्परालाई पुनर्जीवन दिन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।

सामूहिक प्रयासबाट संस्कृति जगेर्नामा जोड

भैलः प्याखं पुनर्जागरणका लागि आयोजित भेलामा दाफा भजन खलःका कृष्णगोपाल छुकां, राजाराम छुकां, रामभक्त बासुकला, मोहनकुमार छुकां, सुनकुमार छुकां, चाँगुनारायण नगरपालिका–९ का वडा सदस्य रविन बासुकला, राम छुकां, हरिगोपाल बासुकला, हरिभक्त छुकां, गोविन्द छुकांलगायतले भैलः प्याखंको महत्व, इतिहास र आफ्ना अनुभव सुनाएका थिए।

उनीहरूले पुस्तौँदेखि चलिआएको मौलिक संस्कृति संरक्षणका लागि पुरानो र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताउँदै सामूहिक प्रयासबाट भैलः प्याखंलाई पुनःजीवन दिनुपर्नेमा जोड दिएका थिए।

भेलाले दाफा भजन खलःका गुरु तथा नाइके, जनप्रतिनिधि, समाजसेवीलगायतलाई समेटेर सल्लाहकार समिति समेत गठन गरेको छ।

करिब तीन दशकको विरामपछि खगांमा भैलः प्याखं पुनः सञ्चालनको तयारीले स्थानीयमा उत्साह थपेको छ। पुरानो पुस्ताको अनुभव, वर्तमान पुस्ताको सक्रियता र नयाँ पुस्ताको सहभागितालाई जोडेर मौलिक सांस्कृतिक परम्परालाई पुनर्जीवन दिने प्रयासले ताथलीको सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

खगांमा फेरि भैलः प्याखंका ताल गुञ्जाउने तयारीसँगै रोकिएको एउटा नाच मात्र पुनः सुरु हुने छैन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान, सीप र सांस्कृतिक स्मृतिलाई नयाँ पुस्तामा पुर्‍याउने अवसरसमेत सिर्जना हुने देखिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top