सचिन्द्र श्रेष्ठ
दुबई । “प्राप्त अधिकार रक्षा आजको आवश्यकता ! पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता !!” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईको आयोजनामा ३२औँ विश्व आदिवासी जनजाति दिवस दुबईमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ यूएईसँग आबद्ध विभिन्न १२ जातीय संघसंस्था तथा आदिवासी जनजाति युवा महासंघ (वाईफिन) यूएईको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक संस्कृति, भाषा, भेषभूषा, खानपान, कला तथा परम्पराको प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा प्रस्तुत गरिएको जातीय सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा सांगीतिक प्रस्तुतिले नेपाली समाजको बहुसांस्कृतिक पहिचानलाई दुबईमा जीवन्त रूपमा प्रस्तुत गरेको थियो। विभिन्न समुदायले आफ्ना मौलिक खानाका परिकार, परम्परागत सामग्री तथा सांस्कृतिक पहिचान झल्काउने वस्तुहरूका स्टलसमेत राखेका थिए।
नेफिन यूएईका अध्यक्ष भागिरथी कुमार भगतको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास, दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो।
नेफिन यूएईका उपाध्यक्ष बुद्धबहादुर तामाङको संयोजकत्वमा आयोजित औपचारिक कार्यक्रम महासचिव मनिषा सुब्बा र सचिव देव भुजेलले संयुक्त रूपमा सञ्चालन गरेका थिए। अनौपचारिक तथा सांस्कृतिक कार्यक्रम नेफिन यूएईका कला–संस्कृति सचिव प्रदीप पुन मगर, प्रवक्ता काजल तामाङ र महिला प्रमुख सबिना चाम्लिङ राईले सञ्चालन गरेका थिए।
मौलिक संस्कृति र परम्पराको प्रदर्शन
कार्यक्रमको प्रमुख आकर्षण विभिन्न जातीय सांस्कृतिक झाँकी, परम्परागत खानाका परिकार, जातीय भाषा तथा भेषभूषाका स्टल र पौराणिक तथा मौलिक सामग्रीको प्रदर्शनी बनेको थियो।
प्रमुख अतिथि कुञ्जन शाहसहित कार्यक्रमका अध्यक्ष तथा अतिथिहरूले विभिन्न जातीय स्टलको अवलोकन गर्दै त्यहाँ राखिएका मौलिक सामग्री तथा परिकारबारे जानकारी लिएका थिए। सहभागी दर्शकहरूले पनि विभिन्न समुदायका मौलिक खानाका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक प्रस्तुतिको आनन्द लिएका थिए।
कार्यक्रममा एकातिर जातीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो भने अर्कोतर्फ विभिन्न समुदायको मौलिक जीवनशैली, खानपान, भाषा, कला र संस्कृतिको विविधता प्रस्तुत गरिएको थियो।
नेवा: पुच: यूएईको उल्लेख्य सहभागिता
कार्यक्रममा नेवा: पुच: यूएईले मौलिक नेवारी संस्कृति, कला, परम्परागत सामग्री तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै उल्लेख्य सहभागिता जनाएको थियो।
संस्थामा पुर्याएको योगदानको उच्च कदर गर्दै नेवा: पुच: यूएईका तर्फबाट पुरुषतर्फ सल्लाहकार भीम नारायण श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य योगिता हाडालाई उत्कृष्ट योगदानका लागि सम्मान गरिएको थियो। सम्मानित दुवैजनालाई कार्यक्रममा उपस्थित अतिथि तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना दिएका थिए।
नेवा: पुच: यूएईका तर्फबाट पत्रकार सचिन्द्र श्रेष्ठ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईको उपाध्यक्षमा सर्वसम्मत निर्विरोध चयन भएका थिए। फोनिज यूएई कार्यक्रमको मिडिया पार्टनरसमेत रहेको थियो।
नेवा: पुच: यूएईको स्टलमा राखिएका विभिन्न मौलिक परिकार तथा सामग्री संस्थासँग आबद्ध सदस्यहरूले स्वेच्छाले तयार गरी प्रायोजन गरेका थिए। स्वयंसेवकका रूपमा पुच:बाट रिता शाही र जयप्रकाश कपालीले सहभागिता जनाएका थिए।
सांस्कृतिक झाँकीतर्फ पुच:का प्रमुख सल्लाहकार, सांस्कृतिक विभाग प्रमुख तथा निवर्तमान अध्यक्ष लक्ष्मण श्रेष्ठले धिमे, महासचिव कुमार बलामीले भुस्या, किरण बज्राचार्यले खिं, समिक श्रेष्ठले लाखे नाच तथा प्रतिमा बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गरेका थिए।
नेपालको राष्ट्रिय झण्डासहितको झाँकीमा पुच:का अध्यक्ष वीरेन्द्र कुमार नकर्मी, उपाध्यक्ष तथा नेफिन सदस्य सुनिलमान श्रेष्ठ, उपाध्यक्ष तथा नेफिन सदस्य दिपेश श्रेष्ठ, सदस्य तथा नेफिन यूएईका कोषाध्यक्ष ईश्वर श्रेष्ठ, सदस्य तथा वाईफिन यूएईका अध्यक्ष गोपाल श्रेष्ठलगायत सहभागी थिए।
त्यस्तै, सदस्यहरू नवराज श्रेष्ठ, योगिता हाडा, प्रतिमा बज्राचार्य, एलिना श्रेष्ठ, सल्लाहकार भुवन नकर्मी, विष्णुलाल श्रेष्ठ तथा संरक्षक भीम नारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
नेवारी परम्परागत सामग्री सुकुन्दा, कलः पानस, जल न्हायकँ, सिन्हँमु, कोटा:, कल:, शंख, घण्टी, अन्टीलगायतका सामग्रीसहित दीप प्रज्वलन गरेर प्रस्तुत गरिएको झाँकीमा निरु श्रेष्ठ, अमिता बज्राचार्य, योगिता हाडा, दुर्गा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रिता शाही, दिपा श्रेष्ठ, मिना महर्जन, सबिना लामा एसबी, रिता श्रेष्ठ, गिता प्रधान, सुरेष प्रजापति, जयप्रकाश कपाली, अशोक श्रेष्ठ, साजन श्रेष्ठ, सूर्यविक्रम श्रेष्ठ, सचिन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
उक्त प्रस्तुतिले नेवारी कला, संस्कृति, भेषभूषा तथा परम्परागत पहिचानलाई यूएईमा रहेका नेपाली समुदायमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
फोनिज यूएईको तेस्रो अधिवेशन सम्पन्न
विश्व आदिवासी जनजाति दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईको तेस्रो अधिवेशनसमेत सम्पन्न भएको छ।
अधिवेशनले यूएईमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूबीच एकता, सहकार्य, व्यावसायिकता र समावेशी पत्रकारिताको अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यसहित सूर्यबहादुर खवासको अध्यक्षतामा २१ सदस्यीय २०२६–२०२८ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सूर्यबहादुर खवास चयन भएका छन्। उपाध्यक्षमा सचिन्द्र श्रेष्ठ, कबिराज राजवंशी, सन्देश तमु र श्यामबहादुर चौधरी निर्वाचित भएका छन्। सचिवमा किशोरी लामा, कोषाध्यक्षमा राम छिलिङ राई तथा सह–कोषाध्यक्षमा आनन्द कुमार भुजेल निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा जीबन तामाङ, रेमिका सुनुवार श्रेष्ठ, बिन्दु सुनुवार, अमृता बान्तवा, सञ्जय भुजेल, दिना कुमाल, स्नेहा तमु, प्रसाद तमु, रोशन महतो, दिलीप हाङ्ग, टिका फियाक र देवीमाया सुनुवार चयन भएका छन्।
निर्वाचन समितिमा नेफिन यूएईका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष बिक्रम पङ्धाक संयोजक, प्रमुख सल्लाहकार बुद्धि मेवाहाङ राई उपसंयोजक तथा सल्लाहकार एवं नेवा: पुच: यूएईका महासचिव कुमार बलामी सदस्य रहेका थिए।
निर्वाचन समितिका संयोजक, उपसंयोजक र सदस्यले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मञ्चमा शपथग्रहण गराएका थिए। प्रमुख अतिथि, कार्यक्रमका सभापति, संयोजक तथा नेफिन यूएईका पूर्व महासचिव एवं संरक्षक सनिल घिसिङको उपस्थितिमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र तथा खादा प्रदान गरी औपचारिक रूपमा घोषणा गरिएको थियो।
पहिचान र सांस्कृतिक संरक्षणमा एकतामा जोड
३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रमले यूएईमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य, सांस्कृतिक संरक्षण तथा मौलिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।
नेफिन यूएईका पूर्व महासचिव, वर्तमान सल्लाहकार तथा नेवा: पुच: यूएईका महासचिव कुमार बलामीले नेपालीहरू विश्वका जुनसुकै देशमा र जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाली हुनुमा गर्व गर्नुपर्ने बताए। राष्ट्रियताको सवालमा तथा विश्वसामु नेपालको पहिचानलाई उजागर गर्न नेवार, थारु, मगर, गुरुङ, तामाङ, शेर्पा, राई, लिम्बू, सुनुवार, भुजेल, कोच राजवंशी, कुमाललगायत सम्पूर्ण जातीय समुदायले आ–आफ्नो मौलिकता संरक्षण र प्रवर्द्धन गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रमले प्रवासमा नेपाली आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने तथा विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना थप मजबुत बनाउने सन्देश दिएको आयोजकहरूको भनाइ छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
