काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिका कलाकार अरुण क्षेत्रीले निर्वाह गर्ने भएका छन्। निर्माण टिमले लामो समयदेखि रहेको दर्शकको कौतुहलतालाई अन्त्य गर्दै अरुणलाई उक्त भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो।
हाल प्रदर्शनरत ब्लकबस्टर चलचित्र ‘गौँथली’ का मुख्य अभिनेता रहेका अरुणले ‘म मदनकृष्ण’सँगै निर्माण टिमले श्रृंखलाबद्ध रूपमा निर्माण गर्ने तयारी गरेको हरिवंश आचार्यको बायोपिकमा पनि मुख्य भूमिका निभाउने गरी एकैपटक सम्झौता गरेका छन्।
निर्देशक मिलन चाम्सका अनुसार हरिवंश आचार्यको भूमिकाका लागि सशक्त अभिनय क्षमता भएका कलाकारको खोजी गर्ने क्रममा अरुण क्षेत्री छनोटमा परेका हुन्।
“‘म मदनकृष्ण’मा हरिवंश दाइको भूमिकाका लागि अरुणलाई अनुबन्ध गरेका छौँ। साथै, हरिवंश आचार्यको जीवनमा आधारित आगामी बायोपिकमा पनि उहाँलाई नै मुख्य भूमिकामा साइन गरेका छौँ। उहाँले यो चरित्रलाई न्याय दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ,” निर्देशक चाम्सले भने।
केही दिनअघि औपचारिक रूपमा घोषणा गरिएको ‘म मदनकृष्ण’ ले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनका संघर्ष, उतारचढाव, पारिवारिक यात्रा तथा कलाकारिताको लामो यात्रालाई पर्दामा प्रस्तुत गर्नेछ।
चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन्। उनले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने मदनकृष्णकी पत्नी यशोदा श्रेष्ठको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्।
बायोपिकमा मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सफल सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका महत्वपूर्ण घटनाक्रमलाई समेटिने निर्माण पक्षले जनाएको छ।
यस चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्।
यसैबीच, चलचित्र ‘म मदनकृष्ण’ को डिजिटल प्रदर्शन अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको निर्माण पक्षले जनाएको छ। नेपालको प्रतिष्ठित डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले चलचित्रको ब्रान्ड मूल्यलाई मध्यनजर गर्दै ठूलो रकममा डिजिटल अधिकार खरिद गरेको हो।
भदौको दोस्रो सातादेखि छायांकन सुरु हुने तयारी रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
