काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेन–जी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् व्यवस्थापन तथा विश्वव्यापी शासन प्रणालीमा देखिएका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको भन्दै अब त्यसलाई ठोस कार्यमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
जेन–जी नेता रवि किरण हमालले प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने महत्वपूर्ण विषयहरू समेटिएको बताएका छन्। उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व हुनु युवाका लागि सुखद विषय भएको उल्लेख गरेका छन्।
‘विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,’ हमालले भनेका छन्।
उनका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएका विषयलाई अब ठोस कूटनीतिक पहल, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमताको अभिवृद्धिसँग जोड्न आवश्यक छ।
‘कुरा राखियो, सकियो भन्ने होइन। अब बल्ल काम सुरु भएको छ। यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,’ हमालले भनेका छन्।
त्यस्तै, जेन–जी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले आफूहरूको तर्फबाट हृदयदेखि नै शुभकामना रहने बताएका छन्।
उनले सम्बोधनको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण हुने धारणा राखेका छन्। प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गहिराइका साथ प्रस्तुत गरेको उनको भनाइ छ।
‘घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला । हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,’ ढुङ्गानाले भनेका छन्।
जेन–जी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको बताएकी छन्।
उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको बताउँदै त्यससँगै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यान्वयनलाई समेत सशक्त बनाउनुपर्नेमा जोड दिएकी छन्।
यसैगरी, जेन–जी नेता मानिस अन्सारीले प्रधानमन्त्री शाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेका विरोधाभासलाई विनम्र र सूक्ष्म ढंगले प्रस्तुत गरेका थिए। विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा उठाएको उनको भनाइ छ।
‘जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो । उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,’ अन्सारीले भनेका छन्।
समग्रमा, जेन–जी नेतृत्व तहका युवाहरूले प्रधानमन्त्री शाहको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले सम्बोधनमा उठाइएका विषयलाई अब कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार तथा ठोस परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत हुनु महत्वपूर्ण भए पनि सम्बोधनको वास्तविक मूल्यांकन त्यसपछि सरकारले गर्ने काम र हासिल गर्ने परिणामबाट हुनेछ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
