न्यूयोर्कमा दशौँ सामूहिक इही कार्यक्रम सम्पन्न

0

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइट्समा नेवार समुदायको परम्परागत पवित्र संस्कार ‘इही’को दशौँ सामूहिक कार्यक्रम सम्पन्न भएको छ। नेवाः नखः न्यूयोर्कको आयोजनामा नेपाल संवत् ११४६, गुँलागा नवमी अर्थात् सेप्टेम्बर ५, २०२६ शनिबार युनाइटेड शेर्पा एसोसिएसनको भवनमा सामूहिक इही कार्यक्रम आयोजना गरिएको हो।

नेवार परम्पराअनुसार बालिकाहरूका लागि गरिने इही संस्कार नेवाः गुभाजु समन्त श्री बज्राचार्यले विधिपूर्वक सम्पन्न गराएको थियो। पूजामा गुरूमा पुष्पा बज्राचार्य तथा नेवाः नखः न्यूयोर्कका पूर्व अध्यक्ष, सल्लाहकार एवं कार्यक्रम संयोजक महेन्द्रवीर बज्राचार्य र पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुमान प्रधानले जजमानका रूपमा सहयोग गरेको थियो।

यस वर्षको सामूहिक इही कार्यक्रममा तिसा प्रधानाङ्ग र माईरा श्रेष्ठ गरी दुई बालिका सहभागी भएका थिए। कार्यक्रममा संस्थाका महासचिव सलोनी वन्त श्रेष्ठले उपस्थित अतिथि तथा सहभागीलाई स्वागत गर्दै कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रुति अमात्यले गरेको थियो। द्वितीय उपाध्यक्ष राधिका कुमारी श्रेष्ठले सहभागी तथा अतिथिहरूलाई स्वागत मन्तव्य दिएको थियो।

प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले सहभागीहरूको परिचय गराउँदै इही संस्कारको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेको थियो। निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. नरेशमान शाक्यले नेवाः नखः न्यूयोर्कको स्थापना, उद्देश्य तथा संस्थाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी दिएको थियो।

कार्यक्रमको अवसरमा अध्यक्ष श्रुति अमात्य र प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले इही संस्कारमा सहभागी बालिकाहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरेको थियो। उनीहरूले बालिकाहरूको उज्ज्वल भविष्यको कामनासहित बधाई तथा शुभकामना व्यक्त गरेको थियो।

कार्यक्रममा अतिथि स्वागत तथा दर्ताको जिम्मेवारी कोषाध्यक्ष मेनी श्रेष्ठ छोचूँ र सदस्य नम्रता प्रधानले सम्हालेको थियो। सह–कोषाध्यक्ष तथा थाय्–भू संयोजक उजिला प्रधान, कार्यसमिति सदस्यहरू मोहिनी कर्माचार्य र अनिता बज्राचार्य तथा सदस्यहरू शोभाना शाक्य, लक्ष्मी शोभा चित्रकार, कमला प्रधान, कान्तेश्वरी डंगोल, रोशनी चित्रकार र कल्याणी श्रेष्ठले इही पूजाका आवश्यक सामग्री तयार गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट ‘लसकुस’ अर्थात् परम्परागत स्वागत गर्दै इही संस्कार गर्ने स्थलसम्म पुर्‍याएको थियो।

उनीहरूले सहभागी बालिकाहरूका लागि उपहार तथा सगुनसहित थाय्–भूको समेत व्यवस्था गरेको थियो। त्यसैगरी, संस्थाका सदस्यहरू दिपक कुमार प्रधान र जीवेन्द्रभक्त प्रधानाङ्ग तथा स्वयंसेवकहरू अभिषेक छोचूँ, मुनिन्द्र बज्राचार्य, साईमन शाक्य, विष्लेक्स मान प्रधान, उज्जन प्रधान, सिद्धार्थ बज्राचार्य र रोहन चित्रकारले अतिथि सत्कार तथा नेवाः समेबजिको व्यवस्थापनमा सहयोग गरेको थियो। कार्यक्रमको फोटोग्राफी जस राईले गर्नुभएको थियो।

समापन कार्यक्रममा अध्यक्ष श्रुति अमात्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने बालबालिका, अभिभावक, गुभाजु, गुरूमा, अतिथि, संस्थाका सदस्य, सल्लाहकार, सहयोगी तथा स्वयंसेवक सबैप्रति धन्यवाद व्यक्त गरे। उनले इहीमा सहभागी बालिकाहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। अध्यक्ष अमात्यले अमेरिकामा रहेर पनि नेवाः समुदायको महत्वपूर्ण संस्कारलाई संस्थागत रूपमा निरन्तरता दिन पाउनु गौरवको विषय भएको बताए। अमेरिकामा जन्मे–हुर्केका नयाँ पुस्तालाई नेपाल भाषा, संस्कृति, संस्कार तथा परम्पराबारे जानकारी गराउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

नेवाः नखः न्यूयोर्क सन् २०११ मा न्यूयोर्कमा स्थापना भएको नेवाः संस्था हो। नेपाल भाषा, संस्कार, परम्परा, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित संस्थाले स्थापनाकालदेखि नै नेवाः समुदायको भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनका साथै समुदायको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top