ललितपुर । पालि तिपिटकअन्तर्गत दीघनिकायको दोस्रो वग्ग ‘महावग्गपालि’ रञ्जना लिपिमा लिप्यान्तरण गरी प्रकाशित गरिएको छ। ललितपुरको पट्कोस्थित मणिमण्डप विहारमा शनिबार आयोजित समारोहमा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले ग्रन्थ विमोचन गरेका हुन्।
भिक्षु शीलभद्र महास्थविरको पहलमा तयार भएको ‘महावग्ग’मा दीघनिकायका १० वटा सुत्त समेटिएका छन्। ग्रन्थमा महापदान, महानिदान, महापरिनिब्बान, महासुदस्सन, जनवसभ, महागोविन्द, महासमय, सक्कपञ्ह, महासतिपट्ठान र पायासि सुत्त समावेश छन्।
भिक्षु शीलभद्र महास्थविरका अनुसार ग्रन्थ प्रकाशनको मुख्य उद्देश्य बुद्धवचनलाई दीर्घकालसम्म सुरक्षित राख्नुका साथै नेपालको मौलिक रञ्जना लिपिको संरक्षण र पुनर्जीवनमा योगदान पुर्याउनु हो।
प्रकाशित संस्करण छट्ठ सङ्गायनको मानक पालि पाठलाई यथावत् रञ्जना लिपिमा लिप्यान्तरण गरिएको हो। यो अनुवाद वा समालोचनात्मक संस्करण नभएको उनले स्पष्ट पारे।
‘महावग्ग’ सन् २०२१ मा लुम्बिनीमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय तिपिटक पाठ समारोहका अवसरमा प्रकाशित दीघनिकायको ‘सीलक्खन्धवग्ग’को निरन्तरताका रूपमा तयार गरिएको हो।
रञ्जना लिपिमा तिपिटक प्रकाशनमार्फत बुद्धवचनलाई नेपालको ऐतिहासिक लिपिमा सुरक्षित राख्ने, रञ्जना लिपिको ज्ञानलाई पुनर्जीवित गर्ने तथा बौद्ध अध्ययन र अनुसन्धानका लागि थप स्रोत उपलब्ध गराउने उद्देश्य राखिएको जनाइएको छ।
डिजिटल प्रविधिसँग जोडिँदै रञ्जना लिपि
रञ्जना लिपिलाई डिजिटल प्रविधिसँग जोड्ने क्रममा वि.सं. २०५६ मा ‘आर. तिपिटक’ फन्ट तयार गरिएको भिक्षु शीलभद्र महास्थविरले जानकारी दिए। पालि भाषाका विशिष्ट वर्ण तथा संयुक्त व्यञ्जनलाई स्पष्ट रूपमा प्रस्तुत गर्न पछि फन्टमा आवश्यक परिमार्जन गरिएको उनले बताए।
पालि भाषामा आवश्यक ‘ह्म’ र ‘म्ह’को भिन्नता स्पष्ट देखिने तथा ‘कक’ र ‘कक्ह’जस्ता वर्ण समावेश गर्ने गरी फन्ट परिमार्जन गरिएको उनको भनाइ छ।
उनका अनुसार ‘आर. तिपिटक’ रञ्जना लिपिको डिजिटल रूपान्तरणका लागि तयार गरिएका प्रारम्भिक महत्वपूर्ण फन्टमध्ये एक हो। उक्त फन्टको टाइपसेटिङ तथा परिमार्जन कार्य मणिमण्डप विहार र नेपाल फाइभको सहयोगमा सम्पन्न भएको हो।
रञ्जना लिपिमा तिपिटकको अभिलेख आवश्यक
ग्रन्थ विमोचन समारोहका प्रमुख अतिथि भिक्षु धम्मसोभन महास्थविरले बुद्धवचन संरक्षणमा प्राचीनकालदेखि मौखिक परम्पराले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अहिले ग्रन्थलाई विभिन्न भाषा र लिपिमा सुरक्षित गर्ने कार्यलाई पनि निरन्तरता दिनुपर्ने बताए।
रञ्जना लिपिमा तिपिटक प्रकाशनले नेपालमा यस लिपिको अभिलेख निर्माण गर्नुका साथै भावी अध्ययन तथा अनुसन्धानका लागि उपयोगी सामग्री तयार हुने उनको धारणा थियो।
ग्रन्थको समीक्षा गर्दै भिक्षु धर्मगुप्त महास्थविरले रञ्जना लिपिको संरक्षण तथा तिपिटकलाई यस लिपिमा उपलब्ध गराउने कार्यको महत्वबारे चर्चा गरे। तिपिटकका विभिन्न संस्करण तथा अनुवाद उपलब्ध भए पनि रञ्जना लिपिमा तिपिटकको अभिलेख निर्माण आवश्यक रहेको उनले बताए।
बौद्ध विद्वान् शाक्य सुरेनले रञ्जना लिपि नेपालमण्डलको सांस्कृतिक तथा धार्मिक इतिहाससँग जोडिएको महत्वपूर्ण लिपि भएको उल्लेख गरे। रञ्जना लिपिमा तिपिटक प्रकाशन हुनु धर्मग्रन्थप्रतिको सम्मानसँगै लिपि संरक्षणका दृष्टिले पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।
प्रकाशित ग्रन्थलाई अध्ययन तथा अनुसन्धानका लागि विभिन्न संस्थासम्म पुर्याउनुपर्नेमा समेत उनले जोड दिए।
प्रकाशक मञ्जुनानी शाक्यले तिपिटकका ग्रन्थ रञ्जना लिपिमा प्रकाशन गर्ने अवसर प्रदान गरेकोमा फन्ट निर्माता भिक्षु शीलभद्र महास्थविरप्रति कृतज्ञता व्यक्त गरे। उनले प्रकाशन कार्यमा संलग्न भिक्षु तथा सहयोगीहरूप्रति पनि आभार व्यक्त गरे।
कार्यक्रममा रञ्जना लिपिमा तिपिटक प्रकाशन तथा संरक्षणको आवश्यकता र महत्वबारे विभिन्न वक्ताले धारणा राखेका थिए।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
