भक्तपुर । भक्तपुरमा मनाइने इन्द्रजात्राको प्रमुख आकर्षणमध्ये एक हो–मुपात्र जात्रा। अन्यत्र कमै देखिने यो परम्परा भक्तपुरको इन्द्रजात्राका क्रममा तीन दिनसम्म मनाइन्छ। राक्षसको स्वरूपमा सजिएका मुपात्र र उनका दुई सहयोगीले तरबार बोकेर नगरका टोलटोलमा परिक्रमा गर्ने भएकाले यो जात्रा विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ।
भक्तपुरको इन्द्रजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ। यही जात्राको छैटौँ दिनदेखि लगातार तीन दिन साँझ मुपात्र निकाल्ने परम्परा छ। यस वर्ष मुपात्र जात्रा असोज १२ गतेदेखि सुरु भएर असोज १४ गतेसम्म सञ्चालन हुँदैछ।
को हुन् मुपात्र ?
मुपात्रलाई शक्तिशाली र भयानक राक्षसको स्वरूपमा प्रस्तुत गरिन्छ। स्थानीय भाषामा उनका दुई सहयोगीलाई ‘धिचा’ भनिन्छ। मुपात्र र धिचालाई विभिन्न रङले अनुहार सजाएर आकर्षक राक्षसी पोसाक लगाइन्छ र हातमा तरबार दिइन्छ।
जात्राका क्रममा उनीहरू भक्तपुर नगरका विभिन्न गल्ली तथा टोलमा पुगेर परिक्रमा गर्छन्। विशेषगरी इन्द्रजात्राका क्रममा टोलटोलमा ठड्याइएका ‘यम द्यः’ लाई मुपात्रले तरबार प्रहार गर्ने परम्परा यस जात्राको मुख्य विशेषता हो।
भक्तपुरका पुराना पत्रकार कृष्ण प्रजापतिका अनुसार मुपात्र तीन दिनसम्म फरक–फरक स्थानबाट निकाल्ने परम्परा छ। पहिलो दिन दत्तात्रयस्थित सकुलान गणेश मन्दिरबाट, दोस्रो दिन भक्तपुर दरबार क्षेत्रबाट र तेस्रो तथा अन्तिम दिन टौमढीस्थित भैरवनाथ मन्दिरबाट मुपात्र निकालिन्छ।
तीनै दिन साँझको समयमा मुपात्र नगर परिक्रमा गराउने गरिन्छ।
यम द्यःलाई ‘सजाय’ दिने परम्परा
इन्द्रजात्राका क्रममा भक्तपुरका विभिन्न टोलमा ‘यम द्यः’ अर्थात् इन्द्रका छोरा जयन्तको प्रतीकका रूपमा लिंगो ठड्याउने गरिन्छ। परम्पराअनुसार चोरीको आरोपमा समातिएका जयन्तलाई टोलटोलमा बाँधेर राखिएको प्रतीकका रूपमा यम द्यः स्थापना गरिन्छ।
मुपात्रले नगर परिक्रमा गर्ने क्रममा यम द्यः रहेका स्थानमा पुगेर तीन पटक परिक्रमा गर्ने र त्यसपछि तरबारले तीन पटक प्रहार गर्ने चलन छ।
यसरी तीन दिनसम्म नगरका विभिन्न टोलमा रहेका यम द्यःलाई मुपात्रले ‘सजाय’ दिने परम्परा रहिआएको छ।
याँमता ननिस्किएसम्म मुपात्र पनि निस्कँदैन
मुपात्र जात्रासँग ‘याँमता’ अर्थात् आकाश दीपको पनि महत्वपूर्ण सम्बन्ध छ। स्थानीय जात्राप्रेमी राजभाई माकका अनुसार जुन दिन याँमता निकालिन्छ, त्यही दिन मुपात्र पनि निकाल्ने गरिन्छ। याँमता ननिकालेसम्म मुपात्र निकाल्ने परम्परा छैन।
याँमता त्रिशूल आकारको हुन्छ। त्रिशूलका तीनवटा टुप्पामा बालिने बत्तीलाई आकाश दीप अर्थात् याँमता भनिन्छ। याँमता नगर परिक्रमा गराएपछि त्यसको पछिपछि मुपात्रलाई पनि नगर परिक्रमा गराउने गरिन्छ।
इन्द्रजात्राको छैटौँ दिन अर्थात् आश्विन कृष्ण द्वितीयाका दिन भक्तपुर नगरपालिका–९ सकुलान टोलका मानन्धर समुदायले याँमता निकाल्ने परम्परा छ। दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडिबाट एक जोडी याँमता निकालिन्छ र त्यसको पछिपछि मुपात्रलाई नगर परिक्रमा गराइन्छ।
जात्राको सातौँ दिन अर्थात् आश्विन कृष्ण तृतीयाका दिन भक्तपुर नगरपालिका–७ गोल्मढीका मानन्धर समुदायले याँमता निकाल्छन्। गोल्मढी मानन्धर चोकमा याँमता बालेर जात्रा सुरु गरिन्छ।
त्यसैगरी जात्राको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीमा भक्तपुर नगरपालिका–२ तेखापुखुका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा सुकुन्दा बालेर ल्याउने र भक्तपुर नगरपालिका–४ बुलुचास्थित ढुङ्गेधारामा एक जोडी याँमता बालेर नगर परिक्रमा गराउने परम्परा छ।
को बन्छ मुपात्र ?
भक्तपुरको इन्द्रजात्रामा मुपात्र बन्ने व्यक्ति स्थानीय नेवार समुदायबाट नभई उपत्यकाबाहिरका विकट क्षेत्रबाट ल्याउने परम्परा रहेको गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्द कर्माचार्य बताउनुहुन्छ।
परम्पराअनुसार मुपात्र बनेपछि जात जाने तथा खानपानसमेत नचल्ने सामाजिक मान्यता रहेको बताइन्छ। यही कारण मुपात्र बन्न व्यक्ति सहजै तयार नहुने भएकाले विगतदेखि नै निश्चित व्यक्तिलाई पारिश्रमिक दिएर मुपात्र बनाउने गरिएको कर्माचार्यको भनाइ छ।
“मुपात्र बन्ने व्यक्तिलाई परम्पराअनुसार सामाजिक रूपमा अलग व्यवहार गरिने भएकाले नयाँ व्यक्ति खोज्न कठिन हुन्छ,” उहाँ भन्नुहुन्छ, “त्यसैले वर्षौंदेखि उही व्यक्तिलाई पारिश्रमिक दिएर जात्रा सञ्चालन गर्दै आएका छौँ।”
मुपात्रसँगै दुई जना सहयोगी धिचा पनि रहने गर्छन्। तीनै जनालाई राक्षसको पोसाक लगाएर, अनुहारमा विभिन्न रङ पोतेर र हातमा तरबार दिएर नगर परिक्रमा गराउने गरिन्छ।
मुपात्र र पुलुकिसीको रोचक सम्बन्ध
मुपात्र जात्रासँग भक्तपुरको अर्को चर्चित जात्रा पुलुकिसीको पनि रोचक सम्बन्ध छ। स्थानीय जनविश्वासअनुसार पुलुकिसीले मुपात्रलाई भेटेमा कुल्चिएर मार्नेसम्मको अधिकार हुने मान्यता छ। त्यसैले पुलुकिसीले नगरको आधाभन्दा बढी क्षेत्र परिक्रमा गरेपछि मात्र मुपात्र निकाल्ने परम्परा रहेको गुठी संस्थानका प्रमुख कर्माचार्य बताउनुहुन्छ।
पुलुकिसी भक्तपुर इन्द्रजात्राको अर्को प्रमुख आकर्षण हो। इन्द्रजात्राको अन्तिम साँझ भक्तपुर नगरपालिका–५ लाकुलाछें टोलबाट पुलुकिसी निकालिन्छ।
बाँसको मान्द्रोमाथि निलो कपडा ओढाएर अगाडिको भागमा हात्तीको सुँढ राखी पुलुकिसी तयार गरिन्छ। चार जनाले बोकेर नगर परिक्रमा गराउने पुलुकिसीभित्र एक जना बसेर घण्टा बजाउने परम्परा छ।
लाकुलाछेंबाट निकालिएको पुलुकिसीलाई तमारीस्थित भैरवनाथ मन्दिर अगाडि तीन पटक घुमाएपछि जात्रा सुरु गर्ने गरिन्छ।
इन्द्रजात्राको पौराणिक कथा
कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष तथा संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार ‘येन्यापुन्ही’ अर्थात् इन्द्रजात्राको अर्थ इन्द्रको जात्रा हो।
लोककथाअनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मास व्रतका लागि पारिजात फूल आवश्यक परेको थियो। स्वर्गमा पारिजात फूल नपाएपछि इन्द्रले आफ्ना छोरा जयन्तलाई फूल खोज्न पृथ्वीमा पठाएका थिए।
पृथ्वीमा फूल खोज्ने क्रममा जयन्त दैत्यहरूको बगैँचामा पुगेर पारिजातको फूल टिप्न थाले। त्यही क्रममा दैत्यहरूले उनलाई पक्राउ गरी दुवै हात पछाडि बाँधेर चोकमा उभ्याएर राखे।
छोरा जयन्त पक्राउ परेको जानकारी पाएपछि इन्द्र हात्तीलाई वाहन बनाएर पृथ्वीमा आए र दैत्यसँग युद्ध गरे। युद्धमा दैत्यलाई पराजित गरेपछि उनीहरूकै हातबाट जयन्तको डोरी काट्न लगाएर छोरालाई मुक्त गरी स्वर्ग फर्किएको धार्मिक ग्रन्थ देवीपुराणमा उल्लेख रहेको डा. केसी बताउनुहुन्छ।
यही कथासँग जोडिएको प्रतीकात्मक परम्पराका रूपमा भक्तपुरमा मुपात्र, यम द्यः र पुलुकिसी जात्रा सञ्चालन हुँदै आएको संस्कृतिविद्हरू बताउँछन्।
घट्दैछन् यम द्यः
भक्तपुरमा इन्द्रजात्राको सुरुवात टोलटोलमा यम द्यः ठड्याएर गर्ने परम्परा छ। पहिले भक्तपुर नगरका २१ टोलमा २१ वटा यम द्यः ठड्याउने गरिएकोमा पछिल्ला वर्षमा यसको संख्या घट्दै गएको स्थानीयको भनाइ छ।
स्थानीय टोलवासी मिलेर करिब २० देखि ३० हात अग्ला यम द्यः ठड्याउने गर्छन्। सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायत भक्तपुरका विभिन्न स्थानमा यम द्यः स्थापना गरिन्छ।
यिनै यम द्यःलाई मुपात्रले तीन दिनसम्म नगर परिक्रमा गर्ने क्रममा भेटेर तीन पटक परिक्रमा गरी तीन पटक तरबार प्रहार गर्ने परम्परा छ।
भक्तपुरको इन्द्रजात्रामा रहेका यस्ता मौलिक परम्परा, पौराणिक कथा र सांस्कृतिक अभ्यासले जात्रालाई अन्यत्रका इन्द्रजात्राभन्दा फरक बनाएको स्थानीय संस्कृतिविद्हरूको भनाइ छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
