भक्तपुरमा एक महिनामा जबरजस्ती करणीका चार मुद्दा, जुवातास खेल्ने ७८ जना पक्राउ

0

भक्तपुर । भक्तपुरमा एक महिनाको अवधिमा जबरजस्ती करणीका चारवटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कात्तिक महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित पाँचवटा मुद्दा दर्ता भएका हुन् । तीमध्ये बहुविवाहसम्बन्धी एउटा मुद्दा रहेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार कात्तिक महिनामा लागूऔषधसम्बन्धी छवटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूबाट ४३.७७ ग्राम खैरो हेरोइन र ५२० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, आर्थिक अपराधअन्तर्गत बैंकिङ कसुरका २१ र ठगीका चार गरी २५ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीले कात्तिक महिनामा जुवातास तथा लङ्गुरबुर्जा खेल्ने ७८ जनालाई पक्राउ गरेको छ । बुधबार सार्वजनिक गरिएको मासिक प्रगति विवरणअनुसार जुवातास खेल्ने ७१ जनालाई पक्राउ गरी २२ बुक ताससहित आठ लाख ७४ हजार ३९० रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, लङ्गुरबुर्जा खेल्ने सात जनालाई पक्राउ गरी एक लाख ६८ हजार ८८० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

जुवातास र लङ्गुरबुर्जामा संलग्न व्यक्तिहरूबाट कुल ११ लाख ६२ हजार ५५० रुपैयाँ बरामद भएको प्रहरीको विवरणमा उल्लेख छ । यसका साथै पटका नियन्त्रण गर्ने क्रममा एक लाख १९ हजार २८० रुपैयाँ बराबरको सामग्रीसमेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार कात्तिक महिनामा जिल्लाभर ३३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । दुर्घटनाका प्रमुख कारणमा लापरबाहीपूर्वक सवारी चलाउनु १३, सडकमा ध्यान नदिनु १० र तीव्र गति ६ वटा रहेका छन् ।

यस अवधिमा विभिन्न मुद्दाका १११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनतर्फ प्रहरीले ५१ जनालाई पक्राउ गरी ११ वर्ष आठ महिना कैद भुक्तान गराएको तथा आठ लाख ९४ हजार ९०२ रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार अघिल्लो महिनामा १४३ वटा मुद्दा दर्ता भएकामा कात्तिक महिनामा भने ६९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ३७ वटा फछ्र्योट भएका छन् ।

घरेलु हिंसासम्बन्धी दुईवटा उजुरी परेकामा दुवै उजुरी मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ । त्यस्तै, कात्तिक महिनामा हराएका २४ जनामध्ये २२ जना फेला परेका छन् । अझै दुई जना पुरुष फेला पर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ ।

यसैगरी, प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित १०६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा तीन हजार ४६२ जनाको सहभागिता रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top